नागार्जुन नगरपालिकाको आयोजनामा २०८० माघ १६ गते सहिद दिवसको अवसरमा नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम तथा जनप्रतिनिधिहरू र कर्मचारीमैत्री फुटसल प्रतियोगिता सम्पन्न।नगरपालिका क्षेत्रभित्र भएका एक जना सहिद परिवार र तीन जना बेपत्ता परिवालाई सम्मानका साथै नगद २५ हजार रूपियाँ प्रदान गरी बेपत्ता तथा सहिद परिवारलाई सम्मान गरेको हो ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नागार्जुन नगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई सम्मान मात्र नभइ उहाँहरुको लागि स्वास्थ्य उपचार र परिवारका बालबालिकालाई शिक्षादिक्षा दिने कार्यमा समेत सहयोगी भूमिका निर्वाह गर्ने बताए सहिदहरुको योगदानका कारणले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उहाँले सहिद र बेपत्ता परिवारको नगरपालिकाले सधै उच्च सम्मान गर्ने स्पष्ट पार्नुभयो । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले सहिद तथा बेपत्ता परिवारको सम्मान गरी उहाँहरुको आत्मबल बढाउने काम स्थानीय सरकारको भएको बताउनुभयो । उहाँले सरकारले जत्तिसक्दो छिटो सङ्क्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोडि दिए ।नगरपालिका उपप्रमुख सुशिला अधिकारीले सहिद तथा बेपत्ता परिवारको सम्मानका लागि सम्मानले मात्र नपुग्ने भन्दै आवश्यक अन्य नगरपालिकाले सक्ने सहयोग गर्ने बताए । सरकारले छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याएर सहिद तथा बेपत्ता परिवारलाई न्याय दिन पनि सरकारलाई आग्रह गरे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सहिद र बेपत्ता परिवारको जीवन यापनका लागि तीनै तहका सरकारले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।
ना.न.पा वडा नं १० स्थित फुटसल मैदानमा जनप्रतिनिधिहरू र कर्मचारीमैत्री फुटसल प्रतियोगितामा जनप्रतिनिधिको तर्फबाट नगर प्रमुख मोहन बहादुर बस्नेत र कर्मचारीको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले नेतृत्व गरेका थिए । ४० मिनेटको खेल सौहार्दपूर्ण तथा रोमाञ्चक भएको थियो ।उक्त खेलमा ३- २ को अन्तरले कर्मचारीले जनप्रतिनिधिलाई पराजय गर्दै सफलता हासिल गरेका थिए । प्रतियोगितामा कर्मचारीको तर्फबाट कुबेर घिमिरेले २ गोल र विश्वनाथ खनालले १ गोल गरेको थिए भने जनप्रतिनिधिको तर्फबाट वडा नं १ का अध्यक्ष रामेश्वर लामाले १ गोल र वडा नं ५ का सदस्य केशब थापाले १ गोल गरेका थिए ।