नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राही उल्लेख्य रुपमा सहभागि भइ सहभागिले नगरपालिकाका विभिन्न विषयमा जिज्ञासा राखेका थिए । सहभागिले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सेवा प्रवाह, सुशासन लगायतका बारेमा जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिले नगरपालिका क्षेत्रमा थुप्रै पर्यटकीय संभावना रहेकाले नगरपालिकाले पर्यापर्यटनका क्षेत्रमा एकीकृत योजना बनाउनुपर्ने, खेतीयोग्य जमिनमा आवास निर्माण गर्न रोक्नुपर्ने, दीगो विकासका लक्ष्य हासिल गर्ने गरी काम गर्न सेवाग्राहीले सुझव राखेका थिए । स्थानीय सेवाग्राहीले सामाजिक र आर्थिक विकास लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिएका छन् । रणनीतिक योजना विना नगरपालिकाको समग्र विकास हुन नसक्ने भन्दै रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिएका हुन् । नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने, सेवाग्राहीलाई सेवा झन्झटिलो रहित बनाउनुपर्ने, वातावरण दैनिक प्रदूषित बन्दै गएकाले नगरपालिकाले वातावरण संरक्षण गर्नुपर्ने, अव्यवस्थित रूपमा सञ्चालन भएका पानीका बोरिङ्गलाई व्यवस्थित बनाउनुपर्ने सुझाव सेवाग्राहीको छ ।सार्वजनिक सुनुवाइमा स्थानीय सेवाग्राहीले राखेका जिज्ञासाको उत्तर दिँदै नगरपालिकाका प्रमुख मोहनबाहदुर बस्नेतले नगरपालिकाले नयाँ प्रशासनिक भवनबाट अहिले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएको बताए । सार्वजनिक सुनुवाइमा आएका सुझावलाई नगरपालिकाले आवश्यकताका आधारमा नगर सभा वा कार्यापालिकाबाट क्रमिक रुपमा सम्बोधन गर्ने बताए । कार्यक्रममा नागार्जुन नगरपालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, पूर्व मन्त्री लगायतकाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनबाहदुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुमन अधकारीले आवश्यक जवाफ दिएका थिए ।